
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ ।
विभिन्न प्रकारका संक्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा कार्यक्रम प्रभावकारी बनेको छ ।
तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।
केन्द्रले हालसम्म ३ लाख ५६ हजार ८३५ पशुवस्तुलाई खोप लगाइएको उनले बताए । कार्यक्रमअन्तर्गत पीपीआर २ लाख ३१ हजार ८२२, खोरेत ९३ हजार २१५, चरचरे भ्यागुते ४७ हजार ४८४, स्वाइन फिवर ६१ हजार ९०४, रेबिज १४ हजार ३१७ खोप लगाइएको उनले बताए ।
पशुधन सुरक्षाका लागि संक्रामक रोग नियन्त्रणका लागि गाईभैंसीलाई खोरेत, चरचरे, भ्यागुते लगायत रोगको खोप लगाइएको केन्द्र प्रमुख डा. श्रेष्ठले बताए । उनका अनुसार संघ सरकारको पशुसेवा विभाग र गण्डकी प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालयको सहयोगमा खोप लगाइएको हो ।