प्रयोग भएका मतपत्रको ब्यबस्थापन

हरिप्रसाद भुसाल May 25, 2022

ई. कुलानन्द बन्जाडे

भर्खरै स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न भएको छ। जनताले आ-आफ्नो मताधिकारको प्रयोग गरी स्थानीय तहमा जनमतको माध्यमबाट सबैभन्दा नजिकको स्थानीय सरकारको नेतृत्व पाएका छन्।देशमा स्थानीय तह निर्वाचनको लागि करिब दुई करोड सात लाख मतमत्र छापिएको थियो। तिनै मतपत्रले जनमतको छिनोफानो गरेको छ। मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षित रुपमा प्राप्त गरेपछि मतगणना कार्य सुरु हुन्छ।मतगणना भए पछि प्रयोग भएका र प्रयोग नभएका मतपत्र के गरिन्छ र तिनीहरुको व्यवस्थापन कसरी गरिन्छ?

मतगणना परिणाम चित्त नबुझे वा उम्मेदवारको योग्यता सम्बन्धि विषय वा मतगणना सम्बन्धि अन्य कुनै असन्तुष्टि भएमा मतपरिणाम घोषणा भएको ३५ दिन सम्म उजुरी दिन सक्ने व्यवस्था रहेको छ। मुद्धा परेको खण्डमा अन्तिम नतिजा नआएसम्म मतपत्र सुरक्षित राखिन्छ। उजुरी नपरेको मतपत्र जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै जिल्ला प्रशासनका प्रतिनिधि तथा अन्य कार्यालयका प्रतिनिधि साक्षी राखी धुल्याउने अर्थात नष्ट गर्ने गरिन्छ। कागजात धुल्याउनु भन्नाले कागजातमा लेखिएको व्यहोरा पढ्न, बुझ्न वा त्यसको अन्य उपयोग गर्न नसकिने गरी रद्द गर्ने तथा आगोमा डढाउने कार्य समेत हो।

सामान्यतया धुल्याउनु भनेको धुलो पार्नु हो।तर डढाउनु तथा जलाउनु कार्य वातावरणीय दृष्टिकोणबाट गलत हो। देशका विभिन्न वायुको गुणस्तर खतरनाक स्तरमा पुगेका प्रतिवेदन सार्वजनिक भई रहेका छन्। हालचालै आरक्यु यर नामक स्विस संस्थाले प्रकाशित प्रतिवेदन अनुसार काठमाण्डौ सबै भन्दा खराब वायुप्रदुसित सहर भएको तथ्यांक देखिएको थियो।

सामान्यतया कागज शतप्रतिशत पुन प्रयोग गर्न सकिन्छ। सामान्यतया एक केजी कागज बनाउन ३२४ लि. पानी को आवश्यकता पर्छ। १० लि. पानी १ प्रति A4 साइज पेपर बनाउन खर्च हुन्छ। ९३% कागज वनस्पतिमै निर्भर हुन्छ। १ टन कागज पुन प्रयोग गर्दा करिब ६८२.५ ग्यालेन तेल, २६५०० लिटर पानी तथा १८ वटा रुख जोगिन्छन्।

सरदर यदि एउटा मतपत्र बराबर २ वटा A4 साइज कागज मान्नेहो भने पनि आयोगले करिब २ करोड ७ लाख मतपत्र छाप्यो। एउटा A4 कागजको तौल सरदर ५ ग्राम हुन्छ । त्यसो भए कुल मतपत्रको तौल २००० टन हुन आउँछ। त्यो भनेको करिब १२५ वटा पुरा लोड भएको ट्रक बराबर हो। यदी यो कागज पुनप्रयोग गर्ने हो भने विद्यालयतहका करिब ५ लाख विद्यार्थीहरुलाई एउटा कक्षालाई पुग्ने पुस्तक बनाउन सकिन्छ। अध्ययन भन्छ कागज जलाउँदा करिब ८४ PPM कार्वन मोनो अक्साइड ३८४ PPM कार्बनडाइ अक्साइड, ०.३८ PPM सल्फर डाइअक्साइड र अन्य हानिकारक ग्यास निस्कन्छ । यो तथ्याङ्क कागजको प्रकृति हेरी फरक हुन सक्छ। तर यो तथ्याङ्क प्रिण्टेड कागजमा अझै डरलाग्दो छ। प्रिण्टेड कागजमा करिब १२० PPM कार्वन मोनो अक्साइड १७०० PPM कार्वनडाइअक्साइड ०.३८ PPM सल्फर डाइअक्साइड लगायत अन्य हानिकारक ग्यास निस्कन्छ। यसै गरि गह्रौ धातु लिड र क्याडिमियम सामान्य कागज जलाउँदा क्रमश ०.३९ र ०.३३ PPM र रंगिन कागज जलाउँदा करिब ०.८५ र ०.४७ PPM उत्सर्जन हुन्छ जसले मानव स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ। त्यसैले मतपत्र जलाउने कार्यमा पुनर्विचार गर्ने कि ?

(ई. बन्जाडे काठमाण्डाै विश्वविद्यालयमा स्नातकाेत्तर अध्ययनरत छन् ।)