ताजा अप्डेट :

सन्धिखर्कमा ठूलो पर्दामा नेपाल र पाकिस्तानको क्रिकेट लाईभ देखाइने छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी १५६ ओैँ दिनमा अर्घाखाँची आईपुगे पैदलयात्री पाध्या ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य पोर्चुगल पुगेका अर्घाखाँचीका दमासे ३ महिनादेखि सम्पर्कविहीन तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा बैंक तथा वित्तिय संस्थाहरु आज शनिवार पनि खुल्ला रहने डिलासैनी गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्ने म्याग्दीको रघुगंगा नगरपालिकामा शतप्रतिशत योजना कार्यान्वयन अर्घाखाँचीका गाउँगाउँमा रास्वपा नेता अर्यालको सक्रियता, २०८४ मा दुई तिहाइ ल्याउने दावी

मेरो नेतृत्वमा पाँच वर्षमा चन्द्रागिरी देशकै नमूना नगरपालिका बन्नेछ - रीना थापा, नगर प्रमुख पदको उम्मेदवार

News Desk May 7, 2022

रीना थापा हाल कानून व्यवसायी अनि एक कुशल शिक्षकको नाम हो । विभिन्न सामाजिक संस्था मार्फत चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाहरुमा महिला तथा बालबालिकाको हक अधिकार सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै सामाजिक पृष्ठभूमि बनाउनुभएकी थापा चन्द्रागिरी नगरपालिका भित्रकै शिक्षण संस्थामा एक सफल शिक्षिकाको रुपमा कार्यरत रहदाको अवस्थामा होस वा वकालत क्षेत्रम रहँदा होस् आफ्नो क्षत्रमा निपूर्ण महिला हुनुहुन्छ । विभिन्न् सामाजिक संघ संस्थामार्फत समाज रुपान्तरणमा सक्रिय रहने थापा अहिले भने चन्द्रागिरी नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नुभएको छ । समाजका लागि हित उपयोगी काम बाहेक व्यक्तिगत लाभका लागि कहिले पनि समय बर्वाद नगरेको दावी गर्ने थापाले आफ्नो जन्मथलो चन्द्रागिरी नगरपालिकाको वासिन्दाको लागि हक हितका लागि योगदान गर्ने बाहेक अरु केही हुन नसक्ने बताउनुहुन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकायबाट एलएलएम (स्नातकोत्तर तह) सम्मको अध्ययन पूरा गरेकी थापाले चन्द्रागिरी नगरपालिकाको नगर प्रमसखमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।  उनै थापासंग पालिका अपडेट डटकमका प्रधानसम्पादक हरिप्रसाद भुसालले गर्नुभएको कुराकानीको सम्पादित अंश ः


यहाँको उम्मेदवारी के को लागि ?

नेपालको संविधानको व्यवस्था बमोजिम स्थानीय तहको सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएको र मैले जनतासँग प्रत्यक्ष रुपमा घुलमिल भई विगतमा समेत सामाजिक संस्थामार्फत केही समय योगदान गर्ने अवसर प्राप्त भएता पनि स्थानीय सरकारको नेतृत्वदायी भूमिकामा रही अझ बढी प्रभावकारी रुपमा चन्द्रागिरी नगरपालिकाको वासिन्दाहरुको निमित्त केही महत्वपूर्ण विकास निर्माण र जनसरोकारको विषयमा काम गर्ने मेरो व्यक्तिगत चाहनाले नै मैले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएको हुँ।  

 
एजेन्डाहरु के छन ? तपाईलाई नै भोट किन ?
 

चन्द्रागिरी नगरपालिका क्षेत्रभित्र रहेका समस्याहरुको बारेमा म पूर्ण जानकार छु भने चन्द्रा गिरी नगरपालिकालाई एउटा समृद्ध नगरपालिकाको रुपमा विकास गरी स्थानीय सरकारले जनताका निमित्त कुन हदसम्मको दिगो विकास, निर्माण र जनजीविकाको सवालमा काम गर्न सक्छ भन्ने देखाउनका निमित्त मैले उक्त मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएको हुँ । मैले मेयर पदमा निर्वाचित भए पश्चात मेरा कार्य योजना र समृद्ध चन्द्रागिरी नगरपालिका बनाउन के के काम गर्न सक्छु भन्ने कुरामा यस अघिनै बुँदागत रुपमा मेरो लिखित प्रतिवद्धता पत्र मतदाता सामु वितरण गरिसकेको छु । जो मतदाताले मेरो प्रतिवद्धता पत्र हेर्न पाउनुभएको छैन मेरो फेसबुक पेज (Adv. Reena Thapa) मा सहजै हेर्न सक्नु हुनेछ ।

विगतमा चन्द्रागिरी नगरपालिकामा निर्वाचित हुने जनप्रतिनिधि राजनीतिक दलबाट नै उम्मेद्वारी दिने उम्मेद्वारले पटक पटक विजय हासिल गरेको क्षेत्र हो । निर्वाचित जनप्रतिनिधिको कार्यशैली र चन्द्रागिरी नगरवासी जनसमुदायको चाहनाको वीचमा ठूलो खाडल देखा परेको थियो । जसको परिणामस्वरुप आज पनि नगरवासीले जनप्रतिनिधिबाट अपेक्षा अनुरुपको विकास र जनप्रतिनिधिबाट राहतको महसुस गर्न सकेको छैन । परिणाम स्वरुप खेती योग्य जमिनलाई अव्यवस्थित रुपमा गरिएका प्लटिङ्ग, प्रदुषणयुक्त औद्योगिक प्रतिष्ठान र विकासका नाममा मापदण्ड विपरितका सडक खन्ने कार्यले अधिकांश नगर क्षेत्र कुरुप मात्र भएको छैन कि नगरपालिकाबाट निर्माण गरिएको भनिएको सडक नगरवासीका निमित्त दुर्घटनाको मुख्य कारण भई मानविय क्षती समेत भएको कुरामा सम्पूर्ण नगरवासी जानकार नै हुनुहुन्छ । मैले आफ्ना एजेन्डाहरुलाई लिखित रुपमा छपाई करिब अधिकांश मतदाता सामु प्रेसित गरेको कुरा माथि नै उल्लेख गरिसकेको छु । विकास के हो ? स्वच्छ हराभरा प्रविधियुक्त, भ्रष्टचार मुक्त, सुशासन युक्त नमूना नगरपालिकाको रुपमा विकास गर्न सक्ने र जनताको जीवनस्तरलाई माथि उकास्न स्थानीय सरकारले के के गर्न सकिन्छ भन्ने कुरा देखाउन नै मैले उम्मेद्वारी दिएको हुँ । सोही कुरालाई आम मतदाता सामु लैजान चाहन्छु र सोही आधारमा नै मलाई नगरवासीले मेयर पदमा अत्याधिक मतले विजयी गराउनु हुने भन्ने मेरो विश्वास छ ।

 
तपाईको बुझाईमा चन्द्रागिरी नगरपालिकाका मुख्य समस्या के हुन् ? जसको समाधानको लागि नेतृत्वमा हजुर आउनुपर्ने छ ।

चन्द्रागिरी नगरपालिकाको समस्या भनेकै यस क्षेत्रका वासिन्दाहरुले भोग्दै आएको समस्याहरु नै हुन् जसलाई म बुँदागत रुपमा उल्लेख गर्न चाहन्छु ।
(क) पानीको श्रोत प्रयाप्त हुँदाहुँदै यस चन्द्रागिरी नगरपालिकाका वासिन्दाले अहिले पनि खानेपानीको समस्याबाट प्रताडित हुनु परेको अवस्था रहेको छ ।
(ख) यस चन्द्रागिरी नगरपालिका देशको राजधानी प्रवेश गर्ने मुख्य नाका रहेको नगरपालिका भएता पनि सुगमभित्रको दुर्गम नगरपालिकाको रुपमा नगरवासीले समस्या भोग्दै आएका छन् । सबै वडा क्षेत्रमा मोटर बाटोले छोएको छैन, जहाँ मोटर बाटोले छोएको छ त्यहाँ व्यवस्थित छैन । जहाँ मोटर बाटोले छोएको छ त्यहाँ गाडी गुडाउन मिल्दैन गाडी गुडाउन मिल्ने भएता पनि  सवारी साधनको अभावमा सर्वसाधारणले आफ्नो घरबाट शहरबजार जान लामो दुरीको पैदल यात्रा गर्नु पर्ने वाध्यता छ ।
(ग) चन्द्रागिरी नगरपालिकाका बलम्बुको पुरानो बस्तीका केही वासिन्दाहरुको जग्गा पुस्तौदेखि घर बनाएर बसेको भएता पनि हालसम्म दर्ता हुन सकेको छैन । घर जग्गाको भोग भएता पनि सम्बन्धित व्यक्तिकोे हक कायम हुन सकेको छैन यो अत्यन्त जटील समस्या हो ।
(घ) व्यक्तिहरुको निजी जग्गाहरुमा स्वीकृति बेगर विद्युतको ट्रान्समिटर राखिदिने, जग्गाको क्षतिपूर्ति नदिने ज्यादती केही स्थानमा नगरवासीले भोग्दै आएका छन् ।
(ङ) नगर क्षेत्रमा प्रविधिक शिक्षा तथा रोजगारमूलक शीपको अभावमा नगरक्षेत्रका युवाहरु रोजगारका लागि विदेशिनु पर्ने वाध्यता छ ।
(च) उचित स्वास्थ्य सेवाको अभावमा नगरवासीले दीर्घ रोगबाट ग्रस्त हुनुपर्ने वाध्यता छ ।
(छ) स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाका जनप्रतिनिधिहरुको अल्पज्ञान, अदुरदर्शिता र कार्य क्षमताको अभावमा धार्मिक, सांस्कृतिक र पौराणिक महत्व राख्ने सम्पदालगायत जग्गाहरुको उचित संरक्षणको अभावमा क्षतविक्षत अवस्थामा हामी देख्न सक्छौं ।
(ज) नगरवासीले आÇनो निजी प्रयासमा गरिएका संरचनागत निर्माण बाहेक नगरपालिकाको तर्फबाट नगरवासीको जीवनस्तर उकास्न कुनै उचित कार्यक्रम हालसम्म नल्याएको कारण स्थानीय सरकारले जनतालाई के दिन सक्छ र ? नगरवासीले नगरपालिकाका जनप्रतिनिधिबाट के के हक र अधिकार पाउने हो भन्ने कुरा अलमलमा छन् ।
यी माथि उल्लेख गरिएका समस्याहरु सांकेतिक मात्र हुन् । नगरवासीले आप्mनो नगरपालिका कार्यालयबाट के सेवा लिने हो ? कस्ता कस्ता सेवा, सुविधा प्राप्त गर्न पाइन्छ भन्ने भन्ने कुराका जानकारी नगरवासीलाई नदिएको र यथास्थितिमा जनप्रतिनिधिले परम्परागत रुपमा गर्ने कार्यशैलीले मात्र यस नगरपालिकाको वासिन्दाको आर्थिक उन्नति हुन सक्ने देखिदैन । यस पटकको निर्वाचनमा चन्द्रागिरी नगरपालिकामा मेयर पदको उम्मेद्वारी दिने २० जना उम्मेद्वारहरु मध्ये म शैक्षिक योग्यताको हिसाबले र नगर क्षेत्रको समस्यालाई  सामाधान गर्न लामो समय अध्ययन गरेको व्यक्ति म मात्रै हो भन्ने कुरा दावीका साथ म भन्न सक्छु । कतिपय स्वतन्त्र उम्मेद्वारहरु राजनीतिक दलले उठाएका डमी उम्मेद्वार हुन, राजनीतिक दलसँग सम्बन्धित उम्मेद्वारहरु उनीहरुलाई उम्मेद्वारको टिकट दिने आप्mनो राजनीतिक दलप्रति नै जवाफदेही हुन्छन् र जनताको समस्याप्रति उनीहरुको खासै चासो र सरोकारको विषय बन्दैन भन्ने कुरा विगतमा जनप्रतिनिधिले देखाएको हर्कतहरुले पुष्टि गर्दछ ।


विरासत जमाएका राजनितिक दलहरुसंगको प्रतिष्पर्धा आफैमा कठिन छ, यसलाई कसरि हेर्नुभएको छ ?

राजनीतिक दलले विरासत जमाएको छ भन्ने बुझाइनै यस पटकको निर्वाचनमा गलत सावित हुनेछ । किनकी विगत ५ वर्ष अघि भएको निर्वाचनलाई आधार बनाई यस पटक मतदाताहरुको भावना, चाहना र आकांक्षाको बारेमा मूल्याङ्कन गर्न मिल्दैन । स्वतन्त्र उम्मेद्वारीको आवश्यकता राजनीतिक दलका क्रियाकलापले नै वोध गराएको हो । राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताका हितमा सक्षमतापूर्वक काम गरेको भए स्वतन्त्र उम्मेदवारको घोषणा गर्नु पर्ने वाध्यता जनताले महसुस गर्ने थिएन । म एक स्वतन्त्र नागरिक हुँ, मैले पनि विगतको निर्वाचनमा राजनीतिक दललाई नै मतदान गरेको हुँ तर आफैले मतदान गरी विजयी बनाएको जनप्रतिनिधिबाट जनताका साना साना समस्याहरु समाधान नहुँदा दलहरुप्रति अहिले वितृष्णा पैदा भएको मैले पाएँ । यस कारण यस नगरक्षेत्रका प्रबुद्ध नागरिकको सल्लाह सुझाव बमोजिमनै मैले उम्मेद्वारी दिएको हो ।  
 
के भन्छन मतदाताहरु ? जितको संभावना कस्तो देख्नुभएको छ ?

मैले विगत २ महिना अघिदेखि जनताको घरदैलोमा जाने र उनीहरुका समस्यालाई नजिकबाट बुभ्mने काम गर्दै आएको छु । मतदाताहरुले स्थानीय तहको निर्वाचनमा दललाई होइन व्यक्तिलाई, हाम्रोलाई होइन राम्रोलाई मतदान गर्ने सोच बनाएर बसेको यस पटक मैले अधिकांश मतदाताहरुबाट पाएको छु । मेरो दृष्टिकोण, कार्य योजना, प्रतिवद्धता र योग्यता समेतको बारेमा चन्द्रागिरी नगरपालिकाका मतदाताहरुलाई प्रष्ट रुपले जानकारी भइसकेको छ । तसर्थ नगरक्षेत्रका अधिकांश मतदाताहरुले मलाई अहिले अग्रिम शुभकामना तथा बधाई दिइ सकेका छन् र मेरो जीत सुनिश्चित छ ।

देशको लागि जन्मिएका, देशको लागि लडेका राजनितिक दलहरुले गर्न नसकेको काम स्वतन्त्रबाट जितेकाहरुले कसरी गर्न सक्लान ?

राजनीतिक दलहरु देशकै लागि हो, जनताले नै दलका नेताहरुलाई नेता बनाएका हुन् । संघ र प्रदेशमा व्यक्ति होइन दलको नै परिकल्पना नेपालको संविधानले गरेको छ । दल देशको लागि आवश्यक छ तर स्थानीय तहमा राजनीतिक दल होइन प्रत्येक नागरिकको समस्यालाई प्रत्यक्ष रुपमा बुभ्mने र जटिल होइन सरल तरिकाबाट जनताका समाधान गर्न सक्ने सक्षम जनप्रतिनिधि नगरवासीले यस पटकको निर्वाचनमा खोजेका हुन् । ति सम्पूर्ण योग्यता, कार्य क्षमता र हौसला मसँग छ भन्ने कुरा सम्पूर्ण नगरवासीलाई विश्वास दिलाउन चाहन्छु । नगरवासीले नगरभित्रका समस्या लिएर कुनै अड्डा अदालत होइन न्यायका लागि चन्द्रागिरी नगरपालिकाको कार्यालय वा नगरभित्रका समस्याको स्तर हेरी वडा कार्यालयबाट तत्काल समाधान हुने व्यवस्था मैले गर्नेछु भन्ने कुरा प्रतिवद्धता जाहेर गर्दछु ।  

तपाईको दृष्टिबाट हेर्दा हजुर निर्वाचित भईसकेपछि पाँच वर्ष पछि हजुरको पालिका कस्तो हुनेछ ?

५ वर्ष पछि यस चन्द्रागिरी नगरपालिका प्रविधिले सम्पन्न नगरपालिका हुनेछ । यस नगरक्षेत्रका जनताले रोजगारको अभावमा नगरपालिका बाहिर वा विदेश जानु पर्ने हालको अवस्था पूर्ण रुपले निराकरण भई जीवनस्तरमा व्यापक रुपमा सुधार भएको पाउनु हुनेछ । यस नगरक्षेत्रका कुनै नागरिकले भोग, रोग र शोकबाट अकालमा मृत्यु वरण गर्नु पर्ने वाध्यता पूर्ण रुपले हट्ने छ । यस नगरक्षेत्र स्वच्छ, सफा हराभरा र समृद्ध देशको नमूना नगरपालिकाको रुपमा यस नगरपालिका मात्र होइन अन्य नगरपालिकाका वासिन्दाले समेत चन्द्रागिरी नगरपालिकाले देख्न पाउने छ ।

अन्त्यमा केही भन्नू छ ?

उत्तरः चन्द्रागिरी नगरपालिकाका सम्पूर्ण मतदाताहरु समक्ष मेरो अनुरोध यो छ की तपाईहरुले मलाई यस पटकको निर्वाचनमा मेरो निर्वाचन चिन्ह खानेपानीको धारामा मतदान गरी मलाई नगर प्रमुख (मेयर) पदमा विजयी गराउनु भई मैले यहाँहरु सामु प्रस्तुत गरेको कार्य योजनालाई योजनावद्ध र दिगो विकासका निमित्त योगदान गर्ने अवसर प्रदान गर्नु हुनेछ भन्ने मेरो विश्वास छ । मतदान गर्दा नगर प्रमुख (मेयर) पदमा मलाई विजयी गराउन निर्वाचन चिन्ह खानेपानीको धारामा नै मतदान गर्नुहोला ।