
कुरा आजभन्दा करीव १४/१५ वर्ष अगाडीको हो । त्यतिबेला म अन्नपूर्ण नि.मा.वि.बाट कक्षा आठ उत्तीण गरी नौ कक्षामा अध्ययनको लागि श्री शान्ति माध्यमिक विद्यालयमा भर्ना भएको थिएँ । एउटा विद्यालयको शिक्षा पुरा गरी अर्को विद्यालयमा पढ्न जाँदा केही उत्साहका साथमा हुने कौतुहलता र असहज हुनु स्वाभविक भएपनि करीव १०/१५ दिनको संगतमै मन मिल्ने साथीहरु बनिसकेका थिए ।
एकदिनको कुरा हो, भर्खर हार्फटाईम (हामी दोप्परी भन्थ्यौं) भएको थियो । साथीभाईरुको विचमा खाजा खान जाने कुरा चल्यो । खाजा त खाने तर कहाँ के खाने ? सरसल्लाह गर्दै गर्दा साथी दिनेश फ्याट्टै बोल्यो, ल खाजा खान चै “हिमाली बा” काँ जाउँ है । विचरा भर्खर भर्खर नयाँ विद्यालयमा आएको मलाई हिमाली बा भन्ने को हो, कहाँ हो, केही थाहा थिएन । तरपनि साथीहरुको पछि पछि धारापानी बजार तिर लागें ।
धारापानी वजार तिर लाग्दै गर्दा मलाई “हिमाली बा” कस्तो होला ? त्यहाँ के खाजा पाइन्छ होला ? होटल कस्तो होला ? जस्ता दर्जनौं कौतुहलताले घेरेको थियो । त्यसवेला मैले धारापनी बजारमा मेरो जेठो बुवाले गर्ने होटल बाहेक कसैलाई पनि चिनेको थिइन । तर साथीहरुको हुल त त्यही घरभित्र पस्यो, जहाँ मेरा जेठाबुवाले होटल चलाउनुभएको थियो । त्यहाँ पुगेपछि मात्र थाहा भयो, हिमाली बा भनेको त मेरै जेठा बुवालाई नै रहेछ । अत्यन्तै मिठो हिमाली चाउचाउ बनाउने भएका कारण नै उहाँलाई “हिमाली बा” भनेर चिन्दा रहेछन् ।
मलाई सम्झना छ, अन्नपूर्ण नि.मा.वि.मा पढ्दा काम विशेषले धारापानी आएको बेला म नदेखेजस्तो गरी जेठा बुवाको नजरमा पर्दथेँ । देख्नासाथ जेठाबुवाले बोलाउनुहुन्थ्यो र के उपलव्ध हुनसक्छ खाजा खुवाएर पठाउनुहुन्थ्यो । मेरो जीवनमा पहिलोपटक दुधमा पकाएको चाउचाउ उहाँले नै ख्वाउनुभएको थियो । हो त्यही सवैले चिनेका हिमाली बाको विषयमा यो अंकमा म केही कोर्ने जमर्को गरिरहेको छु ।
हो, उहाँलाई मैले केही वर्ष अघि गुमाएँ । काम विशेषले गोखुंगा गएको समयमा उहाँले यो संसार छोडेको खवर पाउँदा म एक्कासी भक्कानिएको थिएँ । त्यतिवेला के समस्या भयो कुन्नी म त्यही दिन नै घर जान सकिन । हरेक पलपलमा मान्छे बन्नुपर्छ भनेर सिकाउने उहाँलाई गुमाउदा मलाई संसार नै सकिएजस्तो लागेको थियो । घटनाको दुई तिन दिनपछि मात्र मलाई घर जाने समय जुर्यो । घर त पुगेँ तर जेठा बुवा विनाको घरमा पुग्दा मलाई निकै नै कठिन भयो । घरको वरीपरी घुमिरहने उहाँ यो संसारमा हुनुहुन्न भन्ने थाहा हुँदा हुँदै पनि किन किन यी आँखाहरु घरभरी नै उहाँलाई खोजिरहेका थिए । तरपनि उहाँलाई मैले पाउन सकिन, किनकी उहाँले त कहिल्लै नफर्कने गरी हामीलाई छोडेर गैसक्नु भएको थियो । दाईहरु कुनामा बसिसक्नु भएको रहेछ । जेनतेन घरभित्र त छिरियो तर किन किन, जेठाबुवा नभएको त्यो घरमा मलाई एक मिनेट पनि बस्न मन लागेन । फुत्त बाहिर निस्किएर पर बारीको कुनामा गएर धित मर्नेगरी रोएँ । कुन्नी किन किन त्यस दिन मलाई घण्टौं रुन मन लागेको थियो । धरधरी आँसु वगाउन मन लागेको थियो । घर नजिकै भएका कारण त्यहाँ बुवा, दाई, भिनाजुहरु गएर धित मर्नेगरी रुन नदिएपछि म हामफाल्दै तल घर (मेरो घर) गएँ र घरको पछाडी बसेर करीव पाँच मिनेट धरधरी रोएँ । त्यहाँ पनि बुवाहरु जानुभयो र मलाई सम्झाएर ल्याउनुभयो ।
अहिलेपनि यो घटना सम्झँदा मन भक्कानिन्छ, दगुरेर पर बाटोको डिलमा बसेर धरधरी रुन मन लाग्छ । किनकी मलाई अत्यन्तै माया गर्ने, देशप्रेमी भावनाले ओतप्रोत भएको र प्रष्ट विचार भएको उहाँजस्तो प्रष्ट मान्छे मैले अहिलेसम्म पनि पाएको छैन । उहाँको एउटा विचारले मलाई अहिले पनि झक्झकाई रहन्छ । उहाँ पटक पटक भनिरहनुहुन्थ्यो “यो देश विग्रीएको यो देशमा जनता नभएर हो, पार्टीको खेतारो बन्ने कार्यकर्तामात्र छन्, वास्तविक जनता नै भएनन्” यो उहाँको भनाई अहिले पनि मेरो मन मस्तिष्कमा घुमिरहेको छ । उहाँकै प्रेरणा स्वरुप मैले पनि आजिवन जनता बन्ने प्रण लिएको हुँ ।
देशको विग्रदो राजनीतिबाट निकै चिन्तित उहाँले मसंग पटक पटक भनिरहनुभएको थियो “हरी यो संसारमा अमर त कोही पनि छैन, कुनैदिन म मरेँ भने मलाई कोही कसैले विभिन्न बहानामा पार्टीको झण्डा ओढाउने प्रयास गर्लान, पार्टीको झण्डा ओढाउन नदिएर मेरो मरेको शवलाई कलंक हुनबाट बचाउनु । सकिन्छ भने मलाई देशको झण्डा ओढाउनु, मेरालागि यो भन्दा ठूलो सम्मान अरु हुनेछैन ।” उहाँको यो भावनाले मलाई अहिलेपनि टोकिरहन्छ । कहिँ कतै बाटो विराएँ कि उहाँका यस्तै यस्तै कुराहरुले मलाई घोँचिरहन्छ । मलाई तर्साइरहन्छ । अहिलेपनि म उहाँजस्तै राष्टवादी मान्छेको खोजी गरिहरेको छु । यहाँसम्म त भयो मेरा भावनाका कुरा, अव म उहाँको शैक्षिक आन्दोलनका विषयमा कुरा गरौं ।
मैले यहाँ आन्दोलनको कुरा गर्दा तपाईले पनि सम्झनुभयो होला, टिकाराम पनि आन्दोलनमा हिडेको मान्छे रहेछ भनेर । यदी बुझ्नु भयो भने ठिक बुझ्नुभयो । शैक्षिक विकासको आन्दोलनमा उहाँको जत्ति देन भएको मान्छे अहिलेसम्म पाएको छैन । तर उहाँको आन्दोलन तपाई हामीले कल्पना गरेभन्दा निकै फरक आन्दोलन थियो । उहाँ कसैको झण्डा, लाठी, पर्चा वा भाला बोकेर आन्दोलनमा होमिनुभएको थिएन । उहाँ त रुखको मुनि पाटी र खरी लिएर शैक्षिक आन्दोलनमा होमिनुभएको थियो, त्यो पनि उचाल्न पछार्न होइन अनपढहरुलाई कखरा चिनाउनका लागि ।
यो करीव अजभन्दा चालिस पचास वर्ष पहिलाको हुनुपर्छ । जेठाबुवाले कहाँ सिक्नुभएको थियो, मलाई थाहा छैन तर उहाँ सामान्य साक्षर हुनुहुन्थ्यो । एकदिनको कुरा हो, घरका बुहारीलाई पनि अक्षर चिनाउनुपर्छ भनेर जेठी आमा, माईली आमा, साइली आमा लगायतकाहरुलाई भेला पारेर उहाँले पढाउन शुरु गर्नुभएछ । टोल छिमेकका बुहारीहरु जम्मा गरेर उहाँको विदालयको पढाई शुरु हुन्थ्यो अरे । कस्तो कडा नियम रहेछ भने हरेक बुहारी अनिवार्य आउनैपर्ने । पढ्न चाँसो दिए ठिकै छ, होइन भने टपरी गाँस्ने जस्ता रचनात्मक काम गर्नै पर्ने अरे । खाली बस्न पटक्कै नपाईने ।
यत्र तत्र सर्वत्र भनेझै उहाँको विद्यालयको चारैतिर प्रशंसा हुन थाल्यो, गाउँ गाउँका महिलाहरु उहाँसँग पढ्न भेला हुन थाले । केही वर्ष त यसरी नै पढाउनुभएछ तर पछि धेरै भएपछि यो रुखमुनीको विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने कुरो उठेछ । एकदिन बलराम बा (नारायण भुसाल अंकलका बुवा) आएर सरसल्लाह गर्न थाल्नुभएछ । उहाँकै सल्लाहमा रुखमुनीको विद्यालयलाई अव व्यविस्थित बनाऔं भनेर विद्यालयको जन्म दिनुभएको रहेछ । त्यो विद्यालयको नाम के थियो मैले त विर्सिइसकें तर मलाई सम्झनामा छ, त्यही विद्यालय नै पछि अन्नपूर्ण प्राथमिक बिद्यालय बनेको हो अरे ।
यसरी गाउँ समाजको मुहार उज्यालो बनाउनका लागि प्रयत्नशिल मेरा जेठाबुवाजस्ता हजारौं मानिस यो देशले खोजेको छ । आफ्नो निहित स्वार्थका लागि अनाहकमा निर्दोश मान्छेको ज्यान लिने समाजमा मैले यहाँ लेखेका भावनाहरुले मन छोलान भन्नेमा त मलाई कमै विश्वास छ तर एउटा सत्य के हो भने उहाँको जस्तै भावना भएका केही मान्छे मात्रै हुनेहो भने देशले यो दुर्दशा भोग्नुपर्ने थिएन । अनि जन्मँदै हजारौंको ऋणको भारी बोकेर हाम्रा सन्ततीहरु जन्मनुपर्ने थिएन ।
– हरिप्रसाद भुसाल (२०७२ भाद्र १६ गते)