काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँको अग्रता कायमै छ । मतगणनाको सुरुवातदेखि अग्रता लिएका बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउदै अगाडि हुनुहुन्छ ।
३६४८ मत गणना सकिंदा बानियाँले २१९६ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई पछ्याइरहनुभएका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याउनुभएको छ ।
उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले २१७२ मतका साथ अग्रता कायम राख्नुभएको छ। उहाँकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १२६२ मतका साथ उनलाई पछ्याइरहनुभएको छ ।
अहिलेसम्म वडानम्बर १, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने गणना जारी रहेको वडा नम्बर २ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।