
हरिप्रसाद भुसाल / बैशाख २६ अर्घाखाँची
स्थानीय निर्वाचनको सरगर्मीले यतिवेला भूमिकास्थानको माहौल तताएको छ । सत्ता गठबन्धन र एमालेको विचमा मुख्य प्रतिष्प्रधा हुने यो पालिकामा दुवै पक्ष नै चुनावी प्रचार प्रसारमा सक्रियताका साथ लागेका छन् ।
गठवन्धनको तर्फबाट राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका नेता झविलाल थापा चुनावी मैदानमा रहँदा नेकपा एमालेले पूर्व नगरप्रमुख रेशम थापालाई प्रतिष्प्रधामा उतारेको छ । राष्टिय प्रजातन्त्र पार्टीबाट अर्जुन खनालले नगर प्रमुखमा उम्मेदवारी दिएका भएपनि मुख्य प्रतिष्प्रधा थापा बन्धुहरुकै विचमा हुने देखिएको छ ।
के छ गत निर्वाचनको अवस्था ?
२०७४ को स्थानीय तहको निर्वाचनमा यो पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल थियो । तालमेलमा नगरप्रमुखको टिकट पाएका रेशम थापाले ५ हजार ३ सय २० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी जनमोर्चाका कविराम खनालले ४ हजार ५ सय ४२ मत प्राप्त गरेका थिए । तेस्रो भएका एमाले नेता पिताम्वर भुसालले ४ हजार २ सय ५० मत प्राप्त गर्दा नयाँ शक्तिका प्रेम थापाले ४६ र राप्रपाका धन बहादुर रायमाझीले २२ मत प्राप्त गरेका थिए ।
तर अहिले परिस्थिती बदलिएको छ । उबेला गठबन्धन गरेर निर्वाचन जितेका काँग्रेस माओवादीले त्यसवेलाको निकटतम प्रतिद्वन्दी जनमोर्चालाई साथ दिएका छन् भने तेस्रो बनेको नेकपा एमाले अहिले पनि एक्लै मैदानमा छ । बरु उवेला एमालेका तर्फबाट मेयरमा लडेका पिताम्वर भुसाल र नयाँ शक्तिको तर्फबाट निर्वाचन लडेका प्रेम बन्जाडे एकीकृत समाजवादीमा हुनुहुन्छ । एकीकृत समाजवादी समेत अहिले एमाले इतरको गठबन्धनमा छ ।
के निस्केला निर्वाचन परिणाम ?
विगतको निर्वाचनको तेस्रो शक्तिका विरुद्ध सवै एक भएको भूमिकास्थानमा विगतको नतिजा हेर्ने हो भने गठवन्धनको सहज जित देखिन्छ । विगतको निर्वाचनमा कुल १४ हजार ४ सय ५० सय मत मेयरको लागि खसेकोमा एमालेले ४ हजार २ सय ५० मत प्राप्त गरेको थियो । जुन नगर प्रमुखलाई खसेको कुल मतको करीव ३० प्रतिशत हुन आउछ ।
२०७४ सालको निर्वाचनको मितिदेखी हालसम्म भएको उतारचढावले अहिलेको मतपरिणामलाई कति प्रभाव पार्छ हेर्नै बाँकी छ तर ७० प्रतिशत मत अर्कोतिर अनि ३० प्रतिशत मत आफुतिर भएको अवस्थामा एमालेलाई भूमिकास्थानमा यो पटक जित हासिल गर्नु फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ । यद्यपी निर्वाचनको मतगणना अघि मतपरिणामको आँकलन गर्न सक्ने अवस्था छैन ।
राजनीतिक जोडघटाउ कस्तो ?
२०७४ सालमा रेशम थापाले क्षेत्रीयताको कारण एमालेको करीव ७०० भोट काटेको अनुमान गरिन्छ । यसर्थ भूमिकास्थानमा एमालेको मत करीव पाँच हजार हो । यस विचमा तत्कालिन निर्वाचनमा एमालेका तर्फबाट मेयरका प्रत्यासी पिताम्वर भुसाल लगायतको समूह नेकपा एकीकृत समाजवादीमा छ । जुन समूहसंग करीव ५०० भोट रहेको अनुमान गरिन्छ । त्यस्तै माओवादीबाट करीव ७०० को हाराहारीमा नेता तथा कार्यकर्ता एमालेमा गएको अनुमान गरिन्छ । जसका कारण यो पटक एमालेको मत ५ हजार दुई सयदेखी ५ हजार ५ सय हुनसक्छ । यो पाँच वर्षको विचमा थपिएका मतदाता मध्ये १ हजार ५ सय जनाले एमाले रोजेको अवस्थामा यो निर्वाचनमा एमालेको मत ७ हजार देखि ७ हजार ५ सय हाराहारी हुने देखिन्छ ।
यता गत निर्वाचनमा जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका कविराम खनालले ४ हजार ५ सय मत प्राप्त गरेको भएपनि यो पालिकामा जनमोर्चाको मत ३ हजार ५ सय हाराहारी हो । हाल नगर प्रमुखको उम्मेदवार बनेका जनमोर्चाका झविलाल थापाले नेपाली काँग्रेसको ३ हजार, नेकपा माओवादी केन्द्रको ७०० र एकीकृत समाजवादीको ५०० हाराहारी मत प्राप्त गर्दा गठबन्धनतर्फ कुल ७ हजार ७ सय मत हुनसक्छ । जसमा नयाँ थपिएका मतदाता मध्ये २ हजार ५ सयले गठवन्धन रोजेको अवस्थामा झविलाल थापाले १० हजार भन्दा बढी मत प्राप्त गर्ने देखिन्छ ।
यसर्थ यो निर्वाचनमा क्षेत्रीयताको हिसावले रेशम थापाले नुवाकोट, खिल्जी असुरकोटको मत नकाटेको अवस्थामा र गठवन्धनमा रहेका अन्य राजनीतक दल निकट मतदाताबाट बेइमान नभएको अवस्थामा दुई हजार देखी २ हजार पाँच सय मतको अन्तरमा गठवन्धन पक्षधर झविलाल थापाले भूमिकास्थानको नेतृत्वमा जित हात पार्ने संभावना देखिन्छ ।