अर्घाखाँचीकाे अड्गुरी घटना : कुकुरले भेट्याएकाे थियाे बालिकाकाे शव

News Desk Sep 13, 2021

हरिप्रसाद भुसाल / भदाै २८, अर्घाखाँची 

भदाै १५ गतेकाे दिन । साँझकाे पाँच बजेकाे थियाे । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका वडा नं ७ अड्गुरी झन्द्रेक निवासी जिवलाल सुनार घाँस काट्न गएका थिए, श्रीमती खुमा भने तरकारिकाे जाेहाे गर्न बारितिर गएकि थिईन ।

एक्कसि घरमाथिबाट पहिराे झर्याे । घरमाथिबाट झरेकाे पहिराेले घरमात्र पुरेन, भित्र बसेर बसिरहेका तीन बालबालिका ( जिवलाल सुनारका छाेरा १३ वर्षिय लक्ष्मण सुनार, ९ वर्षिय छाेरी  झरना सुनार र छिमेकि माेहन सारु) समेत पुरिए ।

एकाएक सन्नाटा छायाे, के गर्ने कसाे गर्ने ?  क्षणभरमै गाउँलेहरु जम्मा भए अनि घरभित्र बसिरहेका बालबालिकाहरुकाे खाेजि गर्न लागे । हल्का शरिरकाे केही भाग देखिएका दुई बालक लक्ष्मण र माेहनकाे तत्कालेे जिवितै उद्दार गरियाे । तर संगै रहेकी ९ वर्षिय झरना सुनारकाे अत्ताे पत्ताे लागेन ।

सवैठाउँमा स्थानियले खनिखाेस्री गरे तर झरना भेटिईनन । जिवित भेटाउने आसमा हतार हतार सवैतिर खनियाे तरपनि भेटिईनन । टिभि काेठामा रहेकाे अनुमानमा त्यहि भागमा अझ बढि खाेजि गरियाे । अहँ भेटिईनन । 

खाेजि चलिरहेकाे थियाे, घरमै पालेकाे कुकुरले ( जुन पहिराे जाँदा घर बाहिर थियाे ) एक ठाउँमा खाेस्रिरहेकाे देखियाे । "शुरुमा त कुकुरलाई कसैले वास्ता गरिएन" बालिकाका बुवा जिवलालले पालिका अपडेट डटकमसित भने "पछि एकजनाले  अनि त्यहि ठाउँमा छाेरी हुनपनि सक्छिन खनेर हेराैँ भन्नुभाे, नभन्दै छाेरीकाे शव त्यहि ठाउँमै भेटियाे ।"

आफ्नाे आँखा अगाडि सन्तानकाे शव देख्न पर्नु भन्दा ठुलाे पीडा बुवाआमालाई जिवनमा के नै हाेला र ? एकातिर छाेरी गुमाउनुकाे पिडा, अर्काेतिर ओतलाग्ने ठाउँसमेत प्रकृतिले खाेसेकाे पीडा । सुनार परिवारमा एकाएक बज्रपात आईलाग्याे । हाल जिवलाल सुनारका परिवार आफ्नाे दाजुकाे घरमा आश्रय लिईरहेका छन् ।

परिवारकाे सदस्य संगै ओतलाग्ने ठाउँ समेत गुमाएका सुनार परिवार यतिवेला सहयाेगकाे खाेजिमा छ । "मेराे त छाेरी संगै ओतलाग्ने ठाउँ नै हरायाे" सुनारले भक्कानिदै भने "छाेरी त सधैकाे लागि गुमाईहालेँ, अब ओतलाग्ने ठाउँ कसरी बनाउने भन्ने चिन्ताले पिराेलेकाे छ ।"