काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ। उक्त विधेयकलाई राष्ट्रिय सभामा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता गराएका हुन्।
यस विधेयकमा सामाजिक सञ्जालको दर्ता प्रक्रिया, सञ्चालन र नियमन गर्ने प्रावधान रहेको छ। विधेयक अनुसार फेसबुक, भाइबर, ह्वाट्सएप, एक्स जस्ता सामाजिक सञ्जालहरूले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने छ। संसदबाट विधेयक पारित भएपछि यसलाई राजपत्रमा प्रकाशित गरेको ६ महिनाभित्र यी सञ्जालहरूलाई नेपालमा दर्ता गराउनु पर्नेछ। दर्ता नगरेका सञ्जालहरूलाई सरकारले निषेध गर्न सक्ने प्रावधान रहेको छ।
वर्तमानमा नेपालमा गुगल, मेटालगायतका १९ वटा सामाजिक सञ्जालहरू दर्ता भइ कर तिर्न थालिसकेका छन्।
विधेयकमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई जिम्मेवार र जवाफदेही बनाउनका लागि कडा प्रावधान राखिएका छन्। यसमा कुनै व्यक्ति साइबर बुलिङ गर्नुभयो भने तीन वर्षसम्मको कैद वा ५ लाख रुपैयाँसम्मको जरिवाना अथवा दुवै सजायको व्यवस्था गरिएको छ।
साइबर स्पेसमा गलत सूचना, अपमानजनक शब्दहरू, धम्की, अफवाह फैलाउने गतिविधिहरूलाई साइबर बुलिङको परिभाषामा राखिएको छ। साथै, भ्रामक सूचना र डीपफेक भिडियो प्रसार गर्दा पनि कारबाही हुनेछ।
यस विधेयकको उद्देश्य सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउनु हो, जसका लागि नियमन र कानूनी कदम चालिनेछ।









