भदौ २० अर्घाखाँची । मुख्यमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला अर्घाखाँची आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई अर्घाखाँची जिल्लामा भव्य स्वागत गरिएको छ ।
गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य ४५ दिनपछि आज गृहजिल्ला आएका हुन् । गृहजिल्लामा आचार्यलाई विभिन्न संघसंस्था तथा कार्यालयहरुले स्वागत गरेका छन् ।
आज अर्घाखाँची आएका मुख्यमन्त्री आचार्यलाई सन्धिखर्क नगरपालिका, जिल्ला समन्वय समिति सहित विभिन्न संघसंस्थाले स्वागत गरेका छन् । आजै एमाले अर्घाखाँचीले पार्टी कार्यालयमा मुख्यमन्त्रीसंग भेटघाट तथा पत्रकार भेटघाट समेत गरिसकेको छ ।
हरितालिका तिजको सार्वजनिक विदाको सन्दर्भ पारेर अर्घाखाँची आएका मुख्यमन्त्री आचार्य थप ३ दिन अर्घाखाँची रहने मुख्यमन्त्रीका स्वकिय सचिव प्रदिप नेपालीले बताए ।
यसअघि तिनपटक प्रदेश मन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेका आचार्य अर्घाखाँची जिल्लाको प्रदेशसभा क बाट निर्वाचित भएका हुन् ।