६ भदौ काठमाण्डौ । लमहीका नगर प्रमुख जोगराज चौधरीले आफ्नै घरमा डोजर चलाएर सडक मविस्तार अभियानको शुभारम्भ गरेका छन् ।
लमही बजारमा रहेको आफ्नो पुरानो घरमा डोजर चलाएर चौधरीले लमही कोइलावास हुलाकी सडकको विस्तार शुरु गरेका हुन् ।
“सडक विस्तारको क्रममा धेरैपछि परेपछि मेरै घर भत्काएर अभियान शुरु गर्ने निष्कर्षमा पुगेँ ।” मेयर चौधरीले भने “मेरो घरमा धेरै कार्यालयहरु बसे, व्यक्तिगत काममा समेत प्रयोग गरियो ।”
यसअघि सडक डिभिजन कार्यालय दाङले साउन २९ गते सूचना निकालेर सडकको दायाँ र बायाँ १५ १५ मिटर क्षेत्रमा परेका सबै संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । सो अवधिभित्र कसैले आफैं घर तथा संरचना नहटाए सडक डिभिजन कार्यालयले आफैं हटाउने र हटाउँदा लाग्ने खर्च सम्बन्धित घर धनीबाट असुल्ने चेतावनी दिएको छ ।
स्थानीयले भने जग्गाको मुआब्जा पाए पनि घरको पनि क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् । स्थानीय ३२ जनाले घरको क्षतिपूर्ति माग गर्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन् ।