राविनपाको तालाबन्दी तथा धर्ना कार्यक्रम स्थगित

ग्राम ज्योति सम्वाददाता
राजविराज, २९ असार । राजविराज नगरपालिकामा चार दिनदेखी लागेको ताला बिहीबार विकास निर्माण कामको बाँकी भुक्तानी रकम दिलाउने प्रतिबद्धतापछि खोलिएको छ ।

विकास निर्माणको काम सकिएपनि भुक्तानी नदिएको भन्दै चार दिन देखि विभिन्न उपभोक्ता समितिका पदाअधिकारी तथा फर्मका संचालकहरु नगरपालिका कार्यालयमा तालाबन्दी गरी मुख्यद्वारमै धर्नामा बसेका थिए ।

कार्यवाहक नगर प्रमुख इसरत परविनले सो प्रतिबद्धता व्यक्त गरेपछि उपभोक्ता समिति तथा विभिन्न फर्मका संचालकले चार दिनअघि गरेको तालाबन्दी तथा धर्ना कार्यक्रम स्थगित गरेका छन् ।

कार्यवाहक नगरप्रमुख परविनले आन्दोलनरत पक्षसँग वार्ता गरी नगरक्षेत्रमा सम्पन्न भएका कामहरुको भुक्तानीको लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलन स्थगन गरिएको उपभोक्ता समितिका अध्यक्ष मध्येका एक लक्ष्मण यादवले बताए ।

सडक बोर्डका योजना, सर्शत अनुदान अन्तर्गतका योजना, वडास्तरीय योजनासहितका विभिन्न योजनाको सम्पन्न भइसकेका कामको अनुगमन गरी भुक्तानीका लागि पहल गर्ने कार्यवाहक प्रमुख परबिनले प्रतिबद्धता जनाएको अर्का उपभोक्ता समितिका अध्यक्ष विनोद यादवले बताए ।

गत सोमवारदेखि तालाबन्दी गरी कार्यालयको मुल गेटमै धर्नामा बसेपछि नगरपालिकाको सबै कामकाज ठप्प भएको थियो ।

- Advertisment -

Most Popular