ग्राम ज्योति सम्वाददाता
लहान, २५ असार । सिराहाको मिर्चैयाका मेयर श्रवणकुमार यादवले गुण्डागर्दी गरेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् । करिब तीन महिनादेखि आन्दोलनरत पीडितहरूका समस्या समाधान नगरी मेयर यादव उल्टै ज्यादती र गुण्डागर्दीमा उत्रिएको भन्दै स्थानीयवासीले मिर्चैया बजार बन्द गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।
सडक अवरुद्ध भएपछि सयौँ गाडी अलपत्र परेका छन् । मेयर यादवले आन्दोलनकारीलाई मार्न खोजेको, पुनः घर तोडफोड गरी अदालतको अवहेलना गरेकोलगायत आरोप लगाउँदै स्थानीयवासीले पुनः आन्दोलन गर्नुपरेको बताएका छन् । मेयरले आन्दोलनकारीहरूलाई दुर्घटना गराएर मार्न खोजेको उनीहरूको आरोप छ । मेयरलाई पक्राउ गरेर कानुनी कारबाही गरिनुपर्ने उनीहरूको माग छ ।
मिर्चैया बजारमा नगरपालिकाले घर भत्काइदिएको घटनाको विरोधमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ । यसैक्रममा आइतबार सदरमुकाम सिराहा पुगेर दबाबमूलक प्रदर्शन गर्न पुगे । यो आन्दोलनमा यहाँको एउटा अपहरण घटनाका पीडित परिवार पनि पुग्यो थियो । मेयरले अपहरणकारीलाई सेटिङ गरेर छुटाउन खोजेको र अदालतमा चलिरहेको मिर्चैया बजारको मुद्दामा उनले न्यायपालिकासहित निकायहरूलाई प्रभावित पार्न खोजेको भन्दै उनीहरू सिराहा आन्दोलन गर्न पुगेका थिए ।
उनीहरूले अदालतपछि जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरिरहेकै बेला मेयरको गाडी आयो, र आन्दोलनकारीहरूलाई मेयरसहितकाले गालीगलौज गर्दै गाडी नै उनीहरूमाथि चढाउन खोजेका थिए । आन्दोलनकारी प्रतिकारमा उत्रेपछि मेयर त्यहाँबाट भागेका थिए । त्यसपछि आन्दोलनकारी सवार गाडीमा अपरिचित गाडीहरूमा सवार मान्छेले ढु·ा हान्ने, ओभरटेक गर्ने गरेको पाइएपछि उनीहरू प्रहरीलाई गुहार मागेका थिए । प्रहरीको स्कटिङमा मिर्चैयातिर आइरहेको आन्दोलनकारीको गाडीमा बीचमा बसेर मेयर सवार रहेको सरकारी गाडीले पल्टाउने गरी छेउबाट ठक्कर दियो । गाडी दुर्घटना नभए पनि दुवै गाडी कोरिएको छ ।