ग्राम ज्योति सम्वाददाता
राजविराज, २५ असार । विगत चार दिनदेखी मरेको बाछीलाई ब्यवस्थापन गर्न नसक्दा र मरेको बाछी गन्हाउन थालेपछि सोमबार बिहान ९ बजदेखी राजविराज वडा नं. ८ स्थित सडकखण्डमा स्थानियले चक्काजाम गरेका छन् ।
राजविराज वडा नं. ८ स्थित रुपनी सडक खण्डको महेश लुइटेलको घर अगाडी शुक्रबार साँझदेखी उक्त मरेको बाछी रहेको छ । तर, स्थानिय पालिका र सम्बन्धीत वडाले मरेको बाछीलाई ब्यवस्थापन गर्न कुनै पहल नगरेको भन्दै स्थानियहरुले सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।
स्थानिय सुनिल परियारले भने, “चारदिन देखी मरेको बाछी वडा कार्यालयले उठाउन कुनै पहल नगरेको र शुक्रबार बिहानदेखी मरेको बाछी गन्हाउन थालेपछि बाध्य भई सडक अवरुद्ध गरेका हौं ।”
यस सम्बन्धमा वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलसँग सम्पर्क गर्दा उनले आइतबार दिनभरी मरेको बाछीलाई व्यवस्थापन गर्न पहल गर्दा पनि कुनै साधन नभेटिएकोले अहिले नै मरेको बाछीलाई त्यहाबाट उठाउन पहल सुरु गरेको जानकारी दिए ।
यसैबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनसँग सम्पर्क गर्दा आफूलाई त्यस विषयमा जानकारी नभएको र कसैले पनि नभनेको भन्दै अहिले नै जेसिभी पठाएर मरेको बाछी उठाउने जानकारी दिइन् ।