ग्राम ज्योति सम्वाददाता
जनकपुरधाम, २४ असार । मधेस प्रदेशको छुट्टाछुट्टै घटनामा पानीमा डुबेर २ दाजुभाइको साथै करेन्ट लागेर एक जना गरि तीन जनाको मृत्यु भएको छ । सोहि क्रममा सर्लाहीमा एकै परिवारका दुई दाजुभाइको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।
सर्लाहीको पर्सा गाउँपालिका –४ बस्ने नागेन्द्र महतोका १२ का छोरा प्रिन्स महतो र वर्ष १० का दिपु महतो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ५ बजे कसैलाई जानकारी नदिइ घरबाट खेल्न निस्केका थिए । साँझसम्म घर नफर्किंदा घरपरिवारले खोजबिन सुरु गरेका थिए ।
खोजतलास गर्ने क्रममा राति १२ बजे घरबाट करिब ५०० मिटरमा रहेको बाँके खोलाको तटबन्धका लागि खनेको खाल्डोमा दाजुभाइ फेला परेका हुन् ।
दुवै दाजुभाइलाई डुबेको अवस्थामा फेला पारेर प्रादेशिक अस्पताल मलंगवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।
यस्तै धनुषामा करेन्ट लागेर एक कृषकको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयास्थित खेतमा सिँचाई गर्न गएका स्थानीय ५५ वर्षीय सर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हो ।
आईतबार बिहान ५ बजे आफनै खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादव (सत्ते) ले ओछयाएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ । तार ओछ्याएर छाड्ने सत्यनारायणको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।