फोहोरमैलाले बजार क्षेत्रमा दुर्गन्ध फैलिदा

ग्राम ज्योति सम्वाददाता
राजविराज, २३ असार । सप्तरीको राजबिराज नगरपालिका ७ मा अबस्थित हटिया फोहोरमैलाले अस्तव्यस्त हुँदा समेत सरोकारवाला निकाय बेखबर देखिएको छ । फोहोरमैलाले बजार क्षेत्रमा दुर्गन्ध फैलिदा समेत सरोकारवाला निकाय समस्या समाधानप्रति मौन देखिएको हो ।
एक सातादेखि राजबिराज नगरपालिकाले हटिया क्षेत्रका फोहोरमैला नउठाउँदा नाक छोपेर बस्नुपर्ने बाध्यता रहेको व्यापारीहरु बताउछन् । वडा कार्यालयले फोहर नउठाउँदा हटियाभरी छरपट्ट भई दुर्गन्ध फैलिएको स्थानीयहरुले गुनासो गरेका छन् । फोहोरले नाला जाम गर्दा बजार क्षेत्र  सामान्य बर्षामा पनि जलमग्न भएको हटियाका ब्यापारीहरुले बताएका छन् । एकसातादेखि नगरपालिकाले हटियाको फोहरमैला उठाएको छैन, राजबिराज नगरपालिका ७ का एक स्थानीयबासीले भने, दुई दिनअघि भएको बर्षाको पानीले नालाको फोहोरमाथि बाहिर आएर बसिसक्ने अबस्था छैन ।
समयमा ब्यबस्थापन नगर्दा सडकमा थुपारिएको फोहोरमैला नालामा पसेर जाम हुन थालेको भन्दै स्थानीय एक ब्यापारीले वडा कार्यालयको लापरबाहीले नालाको पानी अबरुद्ध हुँदा फोहोरसहित पानी घर भित्र छिरेर रोग फैलिन सक्ने खतरा बढेको बताए  । फोहोरले हटिया दुर्गन्धित भएको बारे ७ नम्बर वडा अध्यक्ष सुवास यादव र नगरपालिकासँग पटक–पटक सम्पर्क गर्दा समेत सुनुवाई नगरेको स्थानीयले गुनासो गरेका छन् । फोहोरको दुर्गन्धले बजार क्षेत्र वरिपरि बस्न समस्या भएको उनीहरुले दुखेसो पोखे ।
फोहोर नालामा जाम भई पानीको निकास बन्द भएर घर भित्र फोहोरमैलासहित पानी पसेर डुवान हुँदा समेत समस्या समाधान तर्फ कसैले चासो नदिएको स्थानीयबासीहरुले दुखेसो सुनाएका छन् ।
अध्यक्ष यादवले फोहोर उठाउने कार्य शनिबारदेखी सुरु गरिएको बताउँदै हटियाको फोहोर छिट्टै उठ्ने बताए ।
वडा नम्बर ४ का अध्यक्ष दिनेश कसेराले  आफनो क्षेत्रका फोहरमैला उठाउने कार्य सम्पन्न गरेको बताए । वडा नम्बर ४ को फोहरमैला उठाईसकेको जानकारी गराउदै उनले अन्य वडाको फोहरमैला उठाउने कार्य निरन्तर भईरहेको बताए ।
राजबिराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परविनले  डम्पिङसाईडमा विवाद उत्पन्न भएपछि फोहर व्यवस्थापनमा केही ढिलाई भएपनि अर्को बैकल्पिक व्यवस्था गरिएकोले फोहर उठाउने कार्य धमाधम भइरहेको बताईन । सरसफाइको जिम्मेवारी वडा कार्यालयलाई दिईएको वताउदै उनले चाँडै फोहर उठ्ने उल्लेख  गरिन । राजबिराज नगरपालिकाका वडा कार्यालयहरुलाई सरसफाई कर्मचारी, फोहर प्याक्ने साधन र सोमा लाग्ने ईन्धनको ब्यबस्थापन गरिएको उनले जानकारी गरिन। डम्पिङसाईटको व्यबस्था गरि सबै सुबिधा दिईसकिएको छ के कारणले फोहोरमैला नउठाएको हो, सोबारे बुझेर उठाउन लगाउने कार्यबाहक नगरप्रमुख परविनले बताइन् । हटियाको फोहोर भोलीसम्म सबै उठ्ने बताउदै उनले सरसफाइमा कुनैकमी आउन नदिने प्रतिबद्धता व्यक्त गरिन ।
  वडा १५  स्थित डम्पिङसाईटको व्यवस्थापन गरेपनि स्थानीयबासीले अवरोध गरेकाले फोहर व्यवस्थापनमा समस्या भएको नगरपालिकाले जनाएको छ ।  राजबिराज नगरपालिकामा सरसफाइको नाममा महिनाको लाखौं खर्च भएपनि प्रगति भने शुन्य रहेको छ । समयमा सरसफाई नहुँदा नालामा पानी अबरुद्ध भई सामान्य बर्षामा पनि देशकै पुरानो राजबिराज नगरपालिकाका जलमग्न भई स्थानीयबासीले सास्ती खेप्दा पनि सरोकारवाला निकायहरु भने बेखबर जस्तै देखिने गरेका छ्न ।
- Advertisment -

Most Popular