ग्राम ज्योति सम्वाददाता
राजविराज, १९ असार । दुर्घटनामा घाइते सप्तरीका प्राडा पञ्चदेव यादवको ६३ वर्षको उमेरमा मंगलबार निधन भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संघ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्राडा यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् । प्राडा यादवको साढे एक महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।
यादव प्याब्सन सप्तरीको दुई कार्यकाल अध्यक्ष रही हाल प्याब्सन मधेस प्रदेशको प्राज्ञिक सल्लाहकार थिए । उनी सप्तरीमा क्रियाशील सामुदायिक सेवा केन्द्र र मैथिली साहित्य परिषद्को आजीवन सदस्यसमेत रहेका थिए । ज्ञानज्योति सेकेन्डरी स्कुल राजविराजका संस्थापकसमेत रहनुभएका यादव गत जेठ ३ गते राजविराज नगरपालिका–२ स्थित राजविराज–हनुमाननगर सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए ।
विराटनगरमा शव परीक्षण पश्चात आजै उनको जन्मस्थान राजविराज नगरपालिका–१३ स्थित बिषहरियामा दाहसंस्कार हुने परिवारले जनाएको छ ।