ग्राम ज्योति सम्वाददाता
बिराटनगर, १९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसँग सोमबार साँझ कोशी प्रदेशको सरकार निर्माणमा सहकार्यको प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुबीच कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउने सहमति जुटेपछि देउवाले लिङ्देनसँग सम्वाद गरेका हुन् ।
तर लिङ्देनले ठोस् जवाफ दिएनन् । कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको कांग्रेसलाई राप्रपा मनाउनैपर्ने चुनौती छ । प्रदेशसभामा ६ सिटको राप्रपाको साथ नपाए मुख्यमन्त्री नियुक्त भएपनि थापालाई सत्ता टिकाउन कठिन छ ।
किनकि थापालाई कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी (जसपा) को १ सांसदको मात्रै समर्थन छ । त्यो भनेको सभामुखसहित ४७ जनाको समर्थन हो ।
सभामुखले मत व्यक्त गर्न प्रदेशसभामा सभामुखको मत निर्णायक बन्ने परिस्थिति सिर्जना हुनुपर्छ, अर्थात् कुनै प्रस्तावको पक्ष र विपक्षमा मत बराबर भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउँछन् ।
त्यसकारण अब बन्ने सरकारका लागि सहज बहुमत पु¥याउन राप्रपाको साथ लिन गठबन्धनका नेताहरु लागिपरेका छन् । तर कांग्रेसकै नेताहरु राप्रपाको साथ पाउनेमा ढुक्क छैनन् ।
त्यसको कारण भने राप्रपाले एमालेलाई दिइरहेको साथ मात्रै नभएर झापाको राजनीतिमा कांग्रेस र राप्रपा नेताहरुबीचको तिक्ततापूर्ण सम्बन्ध समेत हो । राप्रपाका अध्यक्ष लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच जस्तो प्रतिस्पर्धात्मक सम्बन्ध छ, त्योभन्दा बढी कांग्रेस नेताहरुसँग राप्रपा प्रदेशसभा संसदीय दलका नेता भक्ति सिटौलाको तिक्ततापूर्ण सम्बन्ध छ ।
कृष्णप्रसाद सिटौला र उद्धव थापाको पेलानमा परेको भनेरै भक्ति सिटौलाले २०७० सालमा कांग्रेस छाडेका थिए । यही बुझेर कांग्रेसभित्र प्रदेश संसदीय दलको नेता फेरेर भएपनि मुख्यमन्त्री लिनुपर्ने आवाज उठेको थियो । उद्धव थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट भएकाले कांग्रेसभित्रको समीकरणमा त्यस्तो विकल्प सहज भएन ।
अन्ततः उद्धव थापा मुख्यमन्त्रीको उम्मेदवार बन्दैछन् । एमाले नेता हिक्मतकुमार कार्की पदमुक्त भएकाले प्रदेश प्रमुखले दिएको समयसीमा २१ असारभित्र थापाले मुख्यमन्त्रीको दाबी गर्ने तयारी गरिरहेका छन् । तर राप्रपासँग प्रदेश तहमा कांग्रेस नेताहरुले अहिलेसम्म औपचारिक सम्वाद सुरु गरेका छैनन् ।
अझ उद्धव थापासँग त भक्ति सिटौलाको राजनीति सँगसँगै र नेविसंघको पृष्ठभूमिबाटै अगाडि बढेको थियो । २०३५ सालदेखि नेविसंघको झापा जिल्ला समिति हुँदै थापा र सिटौलाले राजनीति अगाडि बढाए ।