धरान र इटहरीबीचको सीमा विवाद फेरि बल्झेको

ग्राम ज्योति सम्वाददाता
राजविराज, १८ असार । सुनसरीका दुई उपमहानगर धरान र इटहरीबीचको सीमा विवाद फेरि बल्झेको छ। पुनः बल्झेको पुरानो सीमा विवादले यसपटक दुई उपमहानगरलाई सोझो टकरावतिर अग्रसर तुल्याएको छ।

बेला–बेला उठ्दै र सेलाउँदै आएको धरान–इटहरी सीमा विवाद आपसी संवादमार्फत् हल गर्नुपर्ने आवाज सर्वत्र उठिरहेका बेला धरान र इटहरीका मेयरहरू सीमा प्रारम्भ बोर्ड राख्ने र हटाउने होडमा लागेका छन्।

लामो समयदेखि चल्दै आएको धरान र इटहरीको सीमा विवाद यति उत्कर्षमा पुगेको छ कि एउटाले राखेको बोर्ड अर्कोले हटाउने र आफनो राख्ने क्रम चलिरहेको छ।

सोमबार बिहानमात्रै धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीको टोलीले धरान उपमहानगर सीमा प्रारम्भ लेखिएको बोर्ड पानीपिया क्षेत्रमा राखेको थियो।

इटहरी उपमहानगरले धरानका मेयर हर्क साम्पाङले सेउती खोला नजिकै राखेको बोर्ड हटाएर त्यहाँभन्दा दक्षिणमा रहेको पानीपियामा आफनो बोर्ड राखेको थियो।

‘इटहरीले राखेको बोर्ड धरानका मेयरसापले हटाउन लगाएर आफनो राख्नुभएछ, अहिले हामी नगर प्रहरीसहित त्यहाँ पुगेर त्यो बोर्ड हटायौं’ इटहरीका मेयर हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले भने, ‘प्रमुखज्यूकै निर्देशन अनुसार हामीले धरानको बोर्ड हटाइदिएका छौं।’ टोलीमा वडाध्यक्षहरूसहितका जनप्रतिनिधि सामेल रहेको उनले जानकारी दिए।

यसअघि गएको वैशाख दोस्रो साता दुई उपमहानगरबीचको विवाद बल्झेको थियो। धरानका मेयर साम्पाङले पानीपिया क्षेत्रमा बोर्ड राखेपछि इटहरी युवा संघका कार्यकर्ताले बोर्ड उखेलेर फयाँकेका थिए। त्यसपछि दुई नगरका मेयरबीच सामाजिक सन्जालमा वाकयुद्ध चलेको थियो।

त्यसपछि केही समय मत्थर बनेको सीमा विवाद धरानका मेयर साम्पाङले सोमबार बोर्ड राखेर फेरि बल्झाएका छन्। साम्पाङको निर्देशन अनुसार सोमबार बिहान नगर प्रहरीले पानीपियामा पुगेर सीमा प्रारम्भ भएको बोर्ड राखेको थियो। नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको नगर प्रहरीले बोर्ड राखेर फर्केको केही घन्टापछि इटहरीको टोली पानीपिया पुगेर इटहरीको बोर्ड टाँगेको छ।

यसअघि धरानको नगर प्रहरीले कोशी राजमार्गमा पर्ने सेउती खोलाको पुलमा राखिएको नेपाल प्रहरीको बोर्ड पनि हटाएको थियो।

- Advertisment -

Most Popular