उपमेयर विरुद्ध प्रहरीले दर्ता गर्यो मुद्दा

ग्राम ज्योति सम्वाददाता
राजविराज, १८ असार । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादव विरुद्ध आइतबार नागरिकता सम्बन्धि कसूरमा मुद्दा दर्ता गरेको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि दुवै जना विरुद्ध मुद्दा दर्ता भएको हो । झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको नाउँमा परमादेश माग गर्दै दुई महिनाअघि उच्च अदालतमा मुद्दा दायर भएको थियो ।

सो मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश गर्दै मुद्दा दर्ता गरी छानबिन गर्न भनेको छ । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले परमादेशसँगै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको बताए । ‘नागरिकता सम्बन्धि कसूरमा मुद्दा दर्ता भएको छ’ उनले भने, ‘दर्तासँगै अनुसन्धानका साथै हामी प्रमाण जुटाउने कार्यमा अघि बढाएका छौं ।’

सोही नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत अदालतमा दायर गरेको सो मुद्दामा प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको ८ महिना वितिसक्दा समेत कारबाही प्रक्रिया अघि नबढाइएको उल्लेख छ ।

कृष्णले गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उजुरी दिएका थिए ।

- Advertisment -

Most Popular