ग्राम ज्योति सम्वाददाता
राजविराज, १६ असार । बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय एक बयोबृद्ध किसानलाई शुक्रबार सम्मान गरिएको छ । शमसान घाटको रुपमा प्रयोग भइरहेको उक्त जग्गामा फलफुल खेती लगाउन सफल सप्तरीको तिरहुत गाउँपालिका ४ डिमन निवासी ९१ वर्षिय अयोधि यादवलाई कृषि ज्ञान केन्द्रले एक समारोहकाबीच सम्मान गरेको हो ।
राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले अयोधिलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरेका हुन् । उत्कृष्ट ब्यवसायीक फलफुल खेती गरेकाले उनको योगदानको उच्च मुल्यांकन गरि सम्मान गरिएको केन्द्रका प्रमुख यादवले बताए ।
तिरहुत गाउँपालिका ४ डिमनस्थित १२ बिगहा जग्गामा करिब चार दशकदेखी नियमित खटेर विभिन्न जातका फलफुल उनले लगाएका थिए । उनको प्रेरणाबाट अन्य गाउँले पनि बाँझो छोडिराखेको जग्गामा अहिले फलफुल खेती सुरु गरेका छन् । सम्मानित अयोधि अहिले पनि खेतीपाति मै लागेका छन् ।
यसै उपलक्ष्यमा केन्द्र प्रमुख यादवले कार्यालय परिसरमा नवनिर्मित कृषक प्रतिक्षालय भवनको समेत उद्घाटन गरेका छन् ।
कार्यक्रममा कृषि विज्ञ डा. देवनाथ यादव, बालि अधिकृत किसुनदेव राउत, दिनेश यादव, राष्ट्रिय कृषक महासंघका केन्द्रिय सदस्य सुमिन्द्रा चौधरी, गैसस महासंघ मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मण यादव, राष्ट्रिय कृषक महासंघ मधेश प्रदेशका सचिव भुपेन्द्र प्रसाद यादव, पत्रकार चन्दन यादव, कृषि विज्ञ एवं राजनीतिकर्मी विकास तिवारी लगायतले शुभकामना दिँदै कृषि प्रधान मुलुक भनिएपनि कृषि क्षेत्रमा सरकारबाट सो अनुसारको लगानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।