आ.व. २०८०÷०८१ को बजेटलाई समर्थन नगर्ने

ग्राम ज्योति सम्वाददाता
राजविराज, १३ असार । जनमत पार्टीले संसदमा छलफलमा रहेको आर्थिक वर्ष २०८०÷०८१ को बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ । जनमत पार्टी संसदीय दलका अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

जनमत पार्टीका अध्यक्ष राउतले गरिबमारा, मधेस विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने नसकिने निर्णय गरेको बताए । देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य गर्न नसकिने बताउँदै उनले जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टीले जस्तो समर्थन दिन नसक्ने स्पष्ट पारे ।

यो संसद्को गरिमाको लागि पनि अपरिहार्य रहेको बताउँदै उनले डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने यो संसदीय अभ्यासको पनि आफनो पार्टीले विरोध गरेको बताए ।

‘संसदमा आफूले बोलेको कुरामा ५–६ जना सांसदले मात्र अडान लिएर बसेको भए यो बजेट पारित हुने थिएन,’ अध्यक्ष राउतले भने, ‘तर बोल्ने बेलामा एउटा अनि लोभलालचमा परी त्यही बजेटलाई समर्थन गरिदिने परिपाटी रहेको छ ।’

- Advertisment -

Most Popular