ग्राम ज्योति सम्वाददाता
जनकपुरधाम, १३ असार । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा मापदण्ड पालनै नगरी सडक ढलान गरेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्। गाउँपालिका कार्यालय अगाडिको सडक ढलान गर्दा ग्राभेल नओच्छ्याई माटोमाथि नै ढलान गरेको र अत्यधिक माटो मिसिएको गिटी प्रयोग गरेको देखेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्।
सोमबार मापदण्ड अनुसार ढलान नगरेपछि विरोध गरेका स्थानीयले मंगलबार पनि त्यस्तै काम गरेपछि ठेकेदारको काममा रोक लगाएका हुन्। धनुषाधामको रामेश्वर निर्माण सेवाले गरेको काम कमसल भएको स्थानीय गणेश साहले बताए।
सडक डिभिजन कार्यालय जनकपुरको करिब एक करोड रुपैयाँ बजेटबाट यो सडक ढलान भइरहेको छ। सडक डिभिजन कार्यालय धनुषाका इन्जिनियर दुर्गा प्रसादका अनुसार ढलान गर्दा भुइँमा १५ सेन्टिमिटर ग्राभेल, त्यसमाथि १२ एमएमको छड ओछ्याएर गुणस्तरीय सफा गिट्टी, बालुवा र सिमेन्टको मसालाले २० सेन्टिमिटर बाक्लो ढलान गर्नुपर्नेछ।
ढलान सडकको चौडाइ साढे पाँच मिटरसम्मको हुनुपर्नेछ। तर निर्माणस्थलमा भने यो कुनै मापदण्डको पालना गरिएको छैन। स्थानीयले काम रोकेपछि सडक डिभिजनले तत्काल काम नगर्न ठेकेदारलाई निर्देशन दिएको छ।
गुणस्तरहीन कामलाई सच्याउन र मापदण्ड अनुसार मात्र काम गर्न सडक डिभिजन जनकपुरका प्रमुख अरविन्द लाल कर्णले निर्देशन दिएका छन्। उनले सडक ढलानस्थलको तस्वीर देखेपछि गलत भएको स्वीकार गर्दै तत्काल रोक्न निर्देशन दिएका हुन्।
ढलान भइरहेको ठाउँको साइट हेर्ने जिम्मा पाएका इन्जिनियरसमेत रहेका दुर्गा प्रसादका अनुसार रामेश्वर निर्माण सेवा, धनुषाधामले ५३२ घनमिटर बाटोमा आरसीसी ढलान गर्न १४ असार २०७८ मा भ्याटसहित १ करोडमा टेण्डर मार्फत सम्झौता गरेको थियो।
अहिलेसम्म निर्माण कम्पनीले ४४३ घनमिटर सडक ढलान गरिसकेको छ। असार मसान्तभित्रै उसले बाँकी काम सक्नु पर्नेछ। आर्थिक मसान्तको अन्तमा काम सुरु गरेर हतारमा कमसल काम गरिरहेको छ।
निर्माण कम्पनीले जथाभावी कमसल काम गर्दा मात्र ४ किलोमिटरको दुरीमा रहेका डिभिजन कार्यालयका अधिकारीहरु मुकदर्शक बनेका छन्।गाउँपालिका कार्यालयका जनप्रतिनिधि त झन् त्यही सडकबाट आउजाउ गर्छन्। तर उनीहरु पनि चुप छन्।