कमला किनारमा बाढीको पर्खाईमा बसेका माझी

ग्राम ज्योति सम्वाददाता
जनकपुरधाम, १० असार । केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । अ–सारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ । नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरु त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरु पनि बगर छोड्ने सुरसारमा छन् ।
हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरुको सख्या पातलिँदै गएको छ भने नदी किनारमा डुंगा खियाउने माझीहरुको संख्या भने बढ्न थालेको छ । त्यसैमध्येका एक हुन्– कमला नगरपालिका–५ धनुषाका ८० वर्षिय माझी ‘बा’ रामसेवक सहनी । उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ । विहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेऊ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ । “के गर्नु वर्षाका दुई÷चार महिना त हो डुंगा चलाउन पाउने । यो सानै उमेरदेखि गर्दै आएको काम हो । यही घाटमा डुंगा खियाउँदै जीवन बित्यो । ज्यानले साथ दिएसम्म त काम गर्नै पर्यो”, उनले भने ।
कमला–५ का ५२ वर्षिय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ । नदी किनारमा बिहानदेखि बेलुका आँखाले देखुञ्चेल डुंगा खियाउन उनी व्यस्त छन् । यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ । “देशमा हुँदा नौ÷दश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ । बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुंगा चलाउनुहुन्थ्यो । त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौ”, सहनीले भने, “यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो ? भाँसिएको पुल नउठेसम्म त होला ?”

- Advertisment -

Most Popular