ग्राम ज्योति सम्वाददाता
राजविराज, १० असार । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ को वडा कार्यालयमै ‘फर्जी’ कागजातको कारोबार हुने गरेको पाइएको छ ।
गत जेठ २१ गते ‘कोर्ट म्यारिज’ गरेकी सोही ठाउँकी बबिता ईसरको जन्म दर्ता विवादीत बनेपछि सो कुरा बाहिरिएको हो । शनिबार वडाध्यक्ष तेजनारायण यादवले नै पत्रकार सम्मेलन गर्दै कार्यालय सहयोगी देवकान्त चौधरी, वडा सचिव रमेश घिमिरे र कम्प्युटर अप्रेटर सुनीता चौधरीले ‘फर्जी’ जन्म दर्ता बनाइदिएको बताए ।
‘वडा कार्यालयको रेडर्कअनुसार बबिताको जन्म २०६७ साल वैशाख २४ भएको हो तर कार्यालय सहयोगी देवकान्तले आर्थिक प्रलोभनमा परेर वडा कार्यालयको जन्म दर्ता सम्बन्धी ढ्ढा ९रेकर्ड रजिष्टर० मा जन्म मिति २०५८ साल जेठ ११ गते कायम गर्नुभएको बुझियो’ उनले भने, ‘र, वडा सचिव रमेशले पनि जन्म दर्ता प्रमाणित गरिदिनुभएको बुझिन आएको छ ।’
पत्रकार सम्मेलनमा उपस्थित रहेका कार्यालय सहयोगी देवकान्तले पनि जन्म दर्ता प्रतिलिपि लिनका लागि निवेदन दिएका नारायण राम भन्ने व्यक्तिले १५ हजार रुपैयाँ दिने आश्वासन दिएपछि सो कार्य गरेको स्वीकार गरे । ‘जन्म दर्ता प्रतिलिपि दिए तर पैसा भने अझैं पाइसकेको छैन’ उनले भने।
जन्म दर्ता प्रतिलिपिका लागि आएको निवेदनमा तोक भने लगाइएको छैन् तर पनि वडा सचिव रमेशले जन्म दर्ता प्रमाणित गर्नुले वडा कार्यालयमा ‘फर्जी’ कागजातको कारोबार हुँदै आएको श्रोतले बतायो ।
‘जिल्लाको विष्णुपुुर गाउँपालिका–६ का २१ वर्षीय मनोजकुमार रामसँग अन्तर जातीय विवाह गरेकी बबिताको जन्म दर्ता विवादीत बनेपछि अन्य फर्जी काण्डहरु बाहिर नआओस् मनसायले वडाध्यक्ष यादवले सबै दोष कर्मचारीमाथि थुपार्न प्रयासरत हुनुहुन्छ’ श्रोतले भन्यो, ‘वडामा सबै जसो फर्जी कारोबार वडाध्यक्ष यादवकै योजनाअनुसार हुँदै आएको छ, अहिले पनि मोटो रकमको चलखेलपछि जन्म दर्ता विवाद झिकाइएको हो ।’
वडाध्यक्ष यादवले फर्जी भएको विषयमा आफुलाई जानकारीसम्म नरहेको बताए । ‘फर्जी भएको विषयमा मलाई कुनै जानकारी थिएन, जन्म दर्ता विवादीत बनेपछि मात्रै आफुले सोधखोज सुरु गरेको हुँ’ उनले भने, ‘अहिले रेकर्डअनुसार नै मैले पत्रकार सम्मेलन गरे, यसमा कुनै चलखेद छैन् ।’
वडा सचिव रमेशले विश्वासमा परेर आफुले जन्म दर्ता प्रतिलिपि प्रमाणित गरिदिएको पत्रकार सम्मेलनमा बताए ।
उता, मनोजका आफन्त किसुनदेव रामले पनि वडा कार्यालयमा वकायदा ५ सय रुपैयाँको रसिद कटाएर जन्म दर्ता प्रतिलिपि लिएको दावी गरे । ‘५ सय रुपैयाँ रसिद नै कटाएर हामीले प्रतिलिपि लिएका छौं, पैसा लेनदेनको कुरा भएको छैन’ उनले भने, ‘अहिले आएर वडाध्यक्ष यादवले केटी पक्षसँग मिलेर आफनो स्वार्थ पूरा गर्ने चलखेल सुरु गर्नुभएको छ ।’