ग्राम ज्योति सम्वाददाता
राजविराज, ०७ असार । भौगोलिक र जनसंख्याको हिसाबले जिल्लाको सबैभन्दा कान्छो रहेको बलान विहुल गाउँपालिकामा ९ महिनामै जनप्रतिनिधिले इन्धन र सवारी मर्मतमा ५४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको छ ।
प्राप्त विवरणअनुसार गाउँपालिकाले गत साउनदेखि चैत्र २६ गतेसम्ममा सो रकम खर्च गरेको पाइएको हो । उक्त रकममध्ये इन्धनतर्फ पदाधिकारीका लागि १५ लाख, कार्यालय प्रयोजनका लागि २३ लाख ५० हजार, अन्य प्रयोजनका लागि ६४ हजार गरी कुल ३९ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ ।
जिल्लाको बोदे बरसाइन नगरपालिका–५ स्थित डाक्नेश्वरी भगवती सेन्टरसँग इन्धन आपूर्ति गर्न गाउँपालिकाले सम्झौता गरेको छ । सम्झौताअनुसार गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको हस्ताक्षर र गाउँपालिकाको छाप लागेको कुपनको आधारमा मात्रै इन्धन (डिजल र पेट्रोल) उपलब्ध हुँदै आएको थियो ।
अध्यक्ष यादवले आवश्यकताभन्दा पनि मनोमानी ढंगले कुपन काटेर गाउँपालिकाको बजेट दोहन गर्दै आएको कर्मचारी श्रोतको दावी छ । ‘जनताका लागि अति आवश्यक रहेको एम्बुलेन्स, वारुणयन्त्र, शववाहन लगायतका सवारी गाउँपालिकामा छैन’ उनले भने, ‘१८र१९ वटा मोटरसाइकल र एउटा चारपांग्रे सवारी छ, गाउँपालिकालाई भौगोलिक तबरले हेर्दा पनि ती सवारीहरु दैनिक चल्दा समेत त्यति तेल खपत नहुनुपर्ने हो तर अध्यक्ष ज्यूले जनताका लागि काम गर्नेभन्दा पनि आफनै विलासितामा होमिनुभएको छ ।’
उनले इन्धन खपत भएको ‘लगबूक’ समेत नराखिएको बताए । ‘उसो त आर्थिक पाटोसँग जोडिएका प्राय जसो सबै विषय कर्मचारीसँगै जोडिएको हुन्छ र फजुल खर्च नियन्त्रण गर्ने दायित्व पनि कर्मचारीकै हो तर इन्धनको ‘कुपन’मा अध्यक्ष ज्यूको मनोमानी छ’ उनले भने, ‘उहाँ आफनै निजी सम्पत्ति सरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाइरहनुभएको छ ।’
त्यस्तै, गाउँपालिकामा मर्मततर्फ पनि सोही अवधिमा सवारी साधन मर्मतका लागि १४ लाख ८६ हजार र अन्य मर्मत गरी कुल १४ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ । गत माघ १७ गते नै सरकारले वित्त सन्तुलन कायम राख्न इन्धन, मर्मत सम्भार लगायतका शीर्षकमा २० प्रतिशत खर्च कटौती गर्न परिपत्र गरेको थियो । तर, जनप्रतिनिधिले अर्थ मन्त्रालयको सो परिपत्रलाई समेत वेवास्ता गर्दै अचाक्ली खर्च गरेको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले इन्धनको ‘कुपन’ काट्ने विषयमा कानून सम्वत् स्पष्ट हुन नसकेको बताए । ‘बाँकी गाउँ कार्यपालिकाबाट भएको निर्णयहरु मान्नैपर्ने हुन्छ’ उनले भने, ‘इन्धनतर्फ अघिल्लो वर्षको केही रकम भुक्तानी गर्न बाँकी थियो, त्यो पनि यसै वर्ष भुक्तानी गरिएकोले बढी रकम खर्चिएको देखिन्छ ।’