बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय

ग्राम ज्योति सम्वाददाता
राजविराज, ३१ जेठ । बोक्सीको आरोपमा कुटएकी राजविराज नगरपालिका वडा नं. ६ की एकल महिला ४० वर्षिया कबिता मिश्राले चार वर्षपछि न्याय पाएकी छिन् ।

बोक्सीको आरोपमा कबितालाई कुटपिट गर्ने छिमेकी रामकुमार यादवलाई सप्तरी जिल्ला अदालतले १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार रुँपैया जरिवानाको फैसला गरेको छ ।

जिल्लामा बोक्सीको आरोपमा कुटपिटका दोषिलाई कैद र जरिवाना भएको तीन वर्ष यताको यो पहिलो घटना हो ।

जिल्ला न्यायाधिश हेमन्त रावलको इजलाशले मंगलबार उक्त मुद्दामा अन्तिम सुनुवाई गर्दै रामकुमारलाई उक्त कैद र जरिवाना फैसला सुनाएको हो । यता कुटपिटमा सघाएको आरोप लागेका उनका परिवारका सदस्य रामअधिन यादव, पंचीदेवी यादव, उमेश यादव, राजेश यादव र रमेश यादवलाई भने अदालतले सफाई दिएको छ ।

श्रीमतीलाई बोक्सी लगाई मारेको आरोप लगाएर रामकुमार र उनका परिवारका सदस्यले २०७६ साल कात्तिक १३ गते कबिता र परिवारका अन्य सदस्यमाथी कुटपिट गरेको भन्दै आफन्तजन प्रहरी हुँदै अदालतसम्म पुगेका थिए ।

बचाउन जाँदा कबिताका आफन्तमाथी समेत कुटपिट भएको प्रहरी र अदालतमा प्रस्तुत गरिएको जोहरी निवेदनमा उल्लेख गरिएको थियो । टाउँको, डाढ, हात र पेटमा गहिरो चोट लागेको कबिता स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा सात दिनको उपचारपछि घर फर्केकी थिइन् ।

कबिताका तर्फबाट सरकारी वकिल जिल्ला न्यायाधिवक्ता अरबिन्द मेहता, वरिष्ठ अधिवक्ता महेन्द्र कुमार चौधरी, नवराजकुमार क्षेत्री, अधिवक्ता देवबहादुर कटुवाल र शंकर कुमार मिश्रले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ता बालकिशोर यादव र कृष्णकुमार केसीले बहस गरेका थिए ।

अदालतको फैसलाबाट कबिता र उनका परिवारजन भने पूर्ण सन्तुष्ट छैनन् । पीडकको कुटपिटबाट सासु महामेघा, जेठानी लक्ष्मीदेवी मिश्र, भतिजा पारष मिश्र घाइते भएको र उपचारमै ३५ हजार खर्च भएको सुनाउँदै उनले भनिन्, “सोही अनुसारको सजाय र जरिवाना तोक्न नसकेको देखियो ।”

छिमेकी रामकुमारको घरमा कुनै समस्या पर्दा मलाई नै आरोप लगाउँथे, उनले भनिन् “सहन नसक्ने र कुटपिटमै उत्रिएपछि अदालतमा पुगेको हुँ ।” अदालतको फैसलाबाट राहत त मिल्यो, तर, पुरा न्याय नपाएको उनको गुनासो छ ।
बोक्सीको आरोप र कसुर सजाय ऐन २०७२ को दफा ३ (१ को क) मा अभियोगमा सो कसुरमा ६ महिनादेखी २ वर्षसम्म कैद र ५ हजार देखी २० हजारसम्म जरिवाना तथा सोही दफाको (ख) मा बोक्सीको आरोप लगाई कसुर गर्ने व्यक्तिलाई १ वर्षदेखी ३ वर्षसम्म कैद र १० हजारदेखी ३० हजार रुँपैयासम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

- Advertisment -

Most Popular